(१) ऐनको दफा ६४ को उपदफा (१) बमोजिम शर्त पूरा गरी दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त गर्न चाहने व्यक्तिले अनुसूची–६ बमोजिमको ढाँचामा पाँचसय रुपैयाँ दस्तुर सहित कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा प्रचलित कानून बमोजिम नेपाल कानून व्यवसायी परिषद्, नेपाल चार्टर्ड एकाउन्टेण्टस् संस्था वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको संस्थाबाट तत् सम्बन्धी व्यवसाय गर्न कानून व्यवसायी भए अधिवक्ताको प्रमाणपत्र र अन्य व्यवसायी भए त्यस्तो व्यवसाय गर्न प्राप्त इजाजतपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दिएको निवेदन साथ वाणिज्य कानून, व्यापार शास्त्र, व्यवस्थापन, लेखा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोपाधि प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित व्यवसायमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको सवुद समेत संलग्न गर्नु पर्नेछ ।